सरिता कठायत
डोटी चैत्र २१
डोटी _ धनगढीबाट अछामतर्फ जाँदै गरेको एक विद्युतीय सवारी साधन (EV Hiace) शनिबार डोटीको चिसापानीमा दुर्घटनामा परेको छ । के.आई. सिंह राजमार्ग अन्तर्गत दिपायल सिलगढी नगरपालिका – ५ चिसापानीमा हाईस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, शनिबार विहान ४:३० बजेको समयमा सु. प. प्र ०२००१ ज ०२३९ नम्बरको हाईस दुर्घटनामा परेको हो । अछामको चौरपाटी गाउँपालिका–१, सिउडी बस्ने ४५ वर्षीय शंकर शाहाले चलाएको उक्त हाईसमा कुल १५ जना यात्रु सवार थिए । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) डबल बहादुर कठायतको कमाण्डमा ८ जनाको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । दुर्घटनामा परी ४ जना यात्रु घाइते भएका छन् । उनीहरूलाई तत्काल उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल पिपल्लामा पुर्याइएको छ । प्रहरीका अनुसार घाइतेहरूको नाम र अवस्था :
१. अमृता साउँद (५१ वर्ष ) पूर्वीचौकी गा.पा.-५, डोटी (छातीमा चोट, अवस्था मध्यम) ।
२. प्रकाश साउँद (२६ वर्ष ) पूर्वीचौकी गा.पा.-५, डोटी (घुँडामा चोट, अवस्था सामान्य) ।
३. कला साउँद (२५ वर्ष ) चौरपाटी गा.पा.-६, अछाम (हात र ढाडमा चोट, अवस्था मध्यम) ।
४. कमला थापा (१९ वर्ष) चौरपाटी गा.पा.-१, अछाम (टाउकोमा चोट, अवस्था सामान्य) । हाईसमा सवार अन्य ११ जना यात्रुहरू भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । मोडमा सवारी अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
