सरिता कठायत
बैशाख ८, डोटी
डोटी_ डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा एक युवक बगेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भई हाल डोटीको घोलतडास्थित CAB दुनिला क्रसर कम्पनीमा काम गर्ने २२ वर्षीय दीपक बोहरा रहेका छन् । मंगलबार दिउँसो करिब १:५० बजेको समयमा नदीमा नुहाइरहेका बेला उनी अचानक बगेर बेपत्ता भएका हुन् । घटनाबारे दिउँसो २:५० बजे क्रसर कम्पनीका सञ्चालक भानु बोहराले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो । इप्रकाबाट प्रहरी नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा ८ जना र सशस्त्र प्रहरी बल ३६ नं. गण जोगीडाब्रेबाट सशस्त्र प्रहरी निरीक्षक सुजन पोख्ररेलको कमाण्डमा १३ जना गरी जम्मा २१ जनाको टोली दिउँसो ३:३० बजेदेखि खोजी कार्यमा जुटेको छ । हालसम्म बेपत्ता बोहराको अवस्था अज्ञात रहेको र सुरक्षाकर्मीहरूले खोजी कार्यलाई तीव्रता दिएको जानकारी प्राप्त भएको छ ।
