खेम खत्री
डोटी । जोरायल गाउँपालिका–४ का सम्पूर्ण गाउँघर तथा कुना–काप्चामा पहिलोपटक भरपर्दो मोबाइल नेटवर्क र 4G डाटा सेवा सञ्चालनमा आएको छ।
आज दिउँसोदेखि सेवा सुचारु भएसँगै स्थानीयवासीहरूमा उत्साह र खुशीयाली छाएको छ। वर्षौंसम्म साधारण फोन कल गर्नसमेत डाँडाकाँडा धाउनुपर्ने बाध्यताबाट मुक्त भएपछि गाउँघरमै नयाँ ऊर्जा थपिएको स्थानीय बताउँछन्।
सूचना, सञ्चार तथा प्रविधिमा तीव्र परिवर्तन भइरहेको वर्तमान समयमा पनि यहाँका बासिन्दाले लामो समयसम्म घरभित्र बसेर फोन गर्न वा सामाजिक सञ्जाल प्रयोग गर्न पाएका थिएनन्। फेसबुक, म्यासेन्जर, टिकटक, वाट्सएप, इन्स्टाग्राम, भाइबर, इमो जस्ता एप चलाउन आधा घण्टा वा एक घण्टासम्म उकालो–ओरालो गर्नुपर्ने बाध्यता थियो।
वर्षौंदेखि निर्माणाधीन नेटवर्क टावर ‘आज भोलि पर्सि’ भन्दै ढिलाइ हुँदै आएको भए पनि अन्ततः आज सेवा सञ्चालनमा आएको खबरले समुदाय अत्यन्त हर्षित बनेको छ। बिहानसम्म फोन नलाग्ने ठाउँमा दिउँसोदेखि 4G डाटामार्फत भिडियो कल हुन थालेपछि स्थानीयहरू खुशीले गदगद भएका छन्।
नेटवर्क अभावकै कारण समयमै सूचना आदान–प्रदान गर्न नसक्नु, शिक्षा, स्वास्थ्य, रोजगारी तथा जनचेतनाका गतिविधिमा पछि पर्नु परेको गुनासो अब अन्त्य हुने विश्वास गरिएको छ। अब घरमै बसेर इन्टरनेट चलाउन पाउने, आवश्यक सूचना तुरुन्तै प्रचार–प्रसार गर्न सकिने अवस्था बनेको स्थानीयको भनाइ छ।
ढिलै भए पनि समुदायको प्रमुख आवश्यकता पूरा भएको भन्दै स्थानीयले यस कार्यमा सहयोग पुर्याउने जनप्रतिनिधि, सम्बन्धित निकाय तथा जिम्मेवार सबै पक्षप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेका छन्।
