डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ पोखरीमा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। बुधबार साँझ करिब ६ः४० बजेको समयमा दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा विद्युत् वायरिङ गर्ने क्रममा सोही कोठामा राखिएको भरुवा बन्दुक अचानक पड्किँदा स्थानीय लफडा निवासी अन्दाजी ३० वर्षीय कलम धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीका अनुसार वायरिङको काम गरिरहेका धामीको बाँया कन्चटमा बन्दुकको छर्रा लागेपछि उनी गम्भीर घाइते भएका थिए। घटनाबारे आज बिहान करिब १ बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो।
सूचना प्राप्त लगत्तै प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि बिहान ५ः५० बजे जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा SOCO सहित छ जनाको टोली खटिएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
