सरिता कठायत
फाल्गुन ३ डोटी
डोटी — दिपायल सिलगढी नगरपालिका–४ स्थित पक्की पुल नजिक के.आई. सिंह राजमार्गमा भएको सवारी दुर्घटनामा १३ वर्षीया बालिका घाइते भएकी छन । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो करिब १३:१५ बजे धनगढीबाट सिलगढीतर्फ जाँदै गरेको लु ५३ प ६२०३ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा के.आई. सिंह गाउँपालिका–३ झिँगा बस्ती निवासी गोपाल सिंह कुँबरकी छोरी १३ वर्षीया छाँया कुँबरलाई ठक्कर दिएको हो। दुर्घटनामा बालिकाको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। घाइतेलाई उपचारका लागि शौलेश्वरी अस्पताल दिपायल पठाइएको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ । मोटरसाइकल चालक धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–७ माछा बजार निवासी ३३ वर्षीय मनोज कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा रहेको छ। घटनापछि प्रहरी नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
