सुदूरपश्चिममा महिलातथा बालिकामाथि विद्युतीय हिंसा बढ्दो
तीन महिनामै २७ लैङ्गिक हिंसा, १४.८ प्रतिशत साइबर अपराध
सरिता कठायत
माघ २७ डोटी
डोटी: सुदूरपश्चिम प्रदेशमा महिलातथा किशोरीमाथि हुने हिंसाका घटनाहरू दिनप्रतिदिन चिन्ताजनक रूपमा बढ्दै गएका छन्। महिलापुनर्स्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कअनुसार सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म प्रदेशभर २७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाका घटना अभिलेखीकरण गरिएको छ। ओरेकका अनुसार ती घटनामध्ये विद्युतीय माध्यमबाट भएका हिंसा ४ वटा (१४.८ प्रतिशत), यौन हिंसा ४ वटा (१४.८ प्रतिशत), घरेलु हिंसा १६ वटा (५९.३ प्रतिशत) तथा आत्महत्याको प्रयास २ वटा (७.४ प्रतिशत) रहेका छन्।महिलामानव अधिकार रक्षक, सामुदायिक संस्था, महिला समूह, सञ्जाल तथा युवाकिशोरी समूहसँग समन्वय गर्दै ओरेकले हिंसाका घटनाहरूको सङ्कलन, व्यवस्थापन, अभिलेखीकरण र विश्लेषण गर्दै नियमित रूपमा प्रतिवेदन तथा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आएको जनाएको छ। संस्थाका अनुसार सामाजिक सञ्जाल र डिजिटल माध्यमको विस्तारसँगै त्यसको दुरुपयोग बढेको छ। यसको प्रत्यक्ष असर महिलातथा किशोरीमाथि अनलाइन दुव्र्यवहार, साइबर बुलिङ, फेक अकाउन्ट, ह्याकिङ, गोपनीयता उल्लङ्घन, अनलाइन ब्ल्याकमेलिङ तथा चरित्र हत्या जस्ता गम्भीर जोखिमका रूपमा देखिएको छ, जसले उनीहरूको मानसिक स्वास्थ्य, आत्मसम्मान र सामाजिक जीवनमा गहिरो नकारात्मक प्रभाव पारेको छ।
प्रतिनिधि मुलुक घटनाहरू:
कैलालीकी सरिता (परिवर्तित नाम) अनलाइनमार्फत यौन हिंसाको शिकार भइन्। फेसबुक र ह्वाट्सएपबाट चिनजान भएका एक व्यक्तिले गोप्य भिडियो र फोटो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने गरेको खुलेको छ। पीडिताले प्रहरीमा उजुरी दिएकी भए पनि अपराधी अपरिचित भएको भन्दै खोजी भइरहेको छ। सरिता हाल सम्पर्कविहीन रहेको जनाइएको छ। त्यस्तै, २२ वर्षीया मनिषा (परिवर्तित नाम) लाई विवाहको आश्वासन दिएर शारीरिक सम्बन्ध कायम गर्दै फोटो–भिडियो खिची मानसिक यातना दिइएको घटना पनि सार्वजनिक भएको छ। पछि ती व्यक्ति पहिले नै विवाहित तथा आपराधिक पृष्ठभूमिका भएको खुलेपछि पीडिताले उजुरी दिएकी थिइन्। उजुरीकै दिन प्रहरीले उनलाई पक्राउ गरी साइबर अपराधसहित पुराना मुद्दामा जेल चलान गरेको छ। अर्को घटनामा २१ वर्षीया रमिला (परिवर्तित नाम) लाई प्रेम सम्बन्धमा पारेर सँगै खिचिएका फोटो–भिडियो सार्वजनिक गर्ने धम्की दिइएको छ। पछि युवक पहिले नै विवाहित रहेको खुलेपछि रमिलाले साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गरेकी छन्।
विद्युतीय हिंसा संरचनागत समस्या :
ओरेक सुदूरपश्चिमकी प्रदेश संयोजक सपना थापाले यी घटनाहरू प्रतिनिधिमूलक मात्र भएको बताउँदै सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोगमार्फत महिला तथा बालिकामाथि माया–प्रेमको भ्रम सिर्जना गर्ने, चरित्रमा आँच पु¥याउने, डर–धम्कीमार्फत आर्थिक शोषण गर्ने तथा मानसिक यातना दिने प्रवृत्ति बढ्दै गएको बताइन्। उनका अनुसार सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म कैलाली जिल्लामात्रै विद्युतीय हिंसाका घटना कुल लैङ्गिक हिंसाको १४.८ प्रतिशत हुनु अवस्था गम्भीर रहेको स्पष्ट संकेत हो। “विद्युतीय हिंसालाई व्यक्तिगत समस्या होइन, संरचनागत र सामाजिक चुनौतीका रूपमा सम्बोधन गर्न जरुरी छ,” उनले भनिन्। थापाले हिंसाका कारण महिला र बालिकाको डिजिटल पहुँच सीमित गर्नु समाधान नभई उनीहरूको सुरक्षित र सम्मानजनक डिजिटल सहभागिता सुनिश्चित गर्नु दीर्घकालीन समाधान भएको स्पष्ट पारिन्। यसका लागि विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, द्रुत र संवेदनशील अनुसन्धान, पीडित तथा प्रभावितमैत्री उजुरी र न्याय प्रणाली, गोपनीयता संरक्षण, मनोसामाजिक सहयोग तथा डिजिटल साक्षरता अभिवृद्धिमा राज्यको नेतृत्वदायी भूमिका अपरिहार्य रहेको उनको जोड छ।
