
गणेश बहादुर मौनी
पुस ४ डोटी
डोटीका तिन पालिकामा एक्सीस परियोजना लागु हुने भएको छ ।
पिपुल ईन नीड नेपाल, नेपाल राष्ट्रिय अपाङ्ग महिला सङ्घ, अकाउन्टेबिलिटी ल्याब नेपालको संयुक्त साझेदारीमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीले डोटीका तिन पालिका बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका र के आई सिंह गाउँपालिकामा एक्सीस परियोजना लागु गर्न गइरहेको जिल्ला अधिकृत लक्ष्मी देउवा बमले बताइन् ।
सीमान्तकृत बालबालिकाहरूको शिक्षामा पहुँच प्रवर्द्धन गर्न नागरिक समाजको भूमिका सुदृढीकरण गर्नु मुख्य लक्ष्य रहेको परियोजनाले शुक्रवार जिल्ला समन्वय समिति डोटीको सभा हलमा परियोजना अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जिल्लाका ग्रामीण क्षेत्रहरूमा अन्य क्षेत्रभन्दा शिक्षा क्षेत्रमा बढी लगानी गर्नु आवश्यक रहेको बताए । उनले भने आम नागरिकहरूमा चेतनाको विकास हुन आवश्यक रहेको छ त्यसको लागि शिक्षामा जोड दिनुपर्छ । डोटी जिल्लामा लागु हुन गइरहेको परियोजनाले शैक्षिक क्षेत्रमा सुधार ल्याउन कोशेढुंगा साबित हुनुपर्ने त्यसको लागि सबै क्षेत्रको सहयोग रहने समेत प्रमुख सिंहले बताए ।
शैक्षिक क्षेत्रको विकासका लागि डोटी जिल्लामा परियोजना अति आवश्यक रहेकोले डोटीका तिन पालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने कार्यक्रमका सभाध्यक्ष एवं शिक्षाका लागि राष्ट्रिय अभियानका डोटी जिल्ला संयोजक तीर्थराज पन्तले बताए । उनले परियोजनालाई सफल पार्न सबै निकाएको साथ सहयोग आवश्यक रहको समेत बताए । डोटीमा परियोजना मे २०२४ देखि अक्टोबर २०२७ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
परियोजना अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सरोकारवाला निकाय, गैससका प्रमुख प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।