सरिता कठायत
माघ १६ डोटी
डोटी: लैंगिक हिंसा महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले युरोपियन युनियन र संयुक्त रास्ट्र संघीय निकायको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेशका निर्वाचित महिला जनप्रतिनिधिहरूका लागि महिलावादी नेतृत्व विकास सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ। कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा र डोटी जिल्लाका १२ वटा स्थानीय तहमा निर्वाचित महिला वडा सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले सहकार्य, सामूहिक पहल र समुदाय सशक्तीकरणमा जोड दिएको थियो। तालिमको उद्देश्य महिलावादी दृष्टिकोणमार्फत नेतृत्व क्षमता विकास गर्दै स्थानीय सरकारको नीति, योजना र निर्णय प्रक्रियामा महिला जनप्रतिनिधिहरूको प्रभावकारी र सक्रिय सहभागिता सुनिश्चित गर्नु रहेको थियो। भौगोलिक अवस्थालाई ध्यानमा राखी तालिम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका, चुरे र कैलारी गाउँपालिका तथा कञ्चनपुरको बेलौरी नगरपालिकाका २५ जना महिला जनप्रतिनिधिहरूलाई लक्षित गरी माघ ६ गतेदेखि १० गते सम्म तालिम सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा डोटी , बाजुरा र बझाङ जिल्लाका २६ जना निर्वाचित महिला जनप्रतिनिधिहरूको सहभागितामा माघ १२ गतेदेखि १६ गते सम्म डोटीको दिपायलमा तालिम सम्पन्न भएको ओरेक संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक सपना थापाले जानकारी गराएको छ। तालिमले महिला जनप्रतिनिधिहरूलाई समावेशी, उत्तरदायी र समानतामूलक नेतृत्व अभ्यासमा सक्षम बनाउने विश्वास रहेको थापाको भनाइ थियो । पाँच दिनको तालिम हामी जनप्रतिनिधि हुनुभन्दा पुर्व भएको भए धेरै प्रभावकारी हुने थियोे हामीले हाम्रो सोच परिवर्तन आफूबाट सुरूवात गर्नुपर्ने रहेछ सहभागीहरूको भनाइ थियो । महिलालाई पछाडि पारिएको पितृसत्तात्मक सोचले रहेछ भन्ने कुरा तालिमबाट सिकियो यस्ता खाले प्रभावकारी कार्यक्रम समुदायमा पनि दिन जरुरी रहेको सहभागीले बताए ।स्थानीय सरकारको नीति, योजना र निर्णय प्रक्रियामा महिला जनप्रतिनिधिहरूको पनि उत्तिकै दायित्व रहेछ भन्ने कुरामा अझै प्रष्ट भएको बताएका छन् ।कार्यक्रम समापन दिपायल सिलगढी नगरपालिकाका नगर उप- प्रमुख कलावती महर साउँदले गरेको थियोे । उप- प्रमुखले महिलााहरूलाई सक्षम बनाउन संस्थाले गरेका कार्य उदाहरणीय रहेको बताए । 

