प्रविधिको दुरुपयोगबाट हुने हिंसाका विषयमा १ दिने अनुशिक्षण कार्यक्रम संचालन
मंसिर १६ गते
डोटी_ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा दिपाय सिलगढी नगरपालिका वडा नं ६ मा रहेको पद्म पब्लिक मुक्ति नारायण माध्यामिक विद्यालयका किशोरकिशोरीहरुसँग प्रविधिका कारणले हुने हिंसा र प्रविधिको सहि प्रयोगका विषयमा १ दिने अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । मंगलबार “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गराै” भन्ने मुल नाराका साथ सुरु भएको ३४ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सामुदायिक विकास केन्द्र (CDC) डोटी र TPO नेपालको सहजिकरणमा उक्त अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियोे । सन् १९६० मा डोमेनिकल गणतन्त्रका त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन दिदी बहिनी (प्रेटिया, मिनर्भा र मारिया) को निर्मम हत्याको विरोध स्वरुप शुरु गरिएको यो अभियान संस्थागत भएको ३४ वर्ष भइसकेको छ । नेपालको इतिहासलाई हेर्दा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा संगठित आवाज वि सं १९२५ मा नेपालको पुर्वी पहाड, भोजपुरकी योगमाया न्यौपाने हुन् भन्ने गरिन्छ । उनले तत्कालिन नेपाली समाजमा रहेको पित्तृसत्तात्मक सोच, लैङ्गिक विभेद, जातीय शोषण, लगायत सामाजिक सुधारको मुद्धाको उठान गरेकी थिइन् । उनले उठाएका मुद्धाहरु प्रति तात्कालिन सरकारको ध्यान जानु भन्दा पनि त्यसलाई दबाउने प्रवृत्तिको विरोध गर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खबरदारी गर्दै जल समाधि लिएकी थिइन् । नेपालमा गैर सरकारी संघ संस्थाहरुको तर्फबाट १६ दिने अभियानको शुरुवात वि सं २०५४ सालदेखि सुरु गरिएको भए पनि मन्त्री परिषद्को निर्णयले २०७५ देखि मात्र यसलाई सरकारी मान्यता दिएको हो । तत्कालीन सरकारले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक चेतना सहित सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो अहिले पनि निरन्तर चलिरहेको छ । यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मुख्य उद्देश्य सबैखाले संरचनात्मक विभेदको अन्त्य गरी समानतामूलक समाजको निर्माणका लागि स्थानीय तह देखि राष्ट्रिय तहस म्म संगठित रुपमा पैरवी गर्नु हो। प्रविधिको विकासले समाजलाई ठूलो फाइदा पुर्याए पनि यसको गलत प्रयोगले विभिन्न प्रकारका हिंसाहरू पनि बढाएको छन । यसलाई मुख्यतया साइबर हिंसा (Cyber Violence) को रूपमा चिनिन्छ, जस अन्तर्गत निम्न प्रकारका हिंसाहरू पर्छन् ।
१ . साइबर बुलिङ्ग (Cyber Bullying): सामाजिक सञ्जाल, इमेल, वा च्याटमार्फत कसैलाई निरन्तर सताउने, धम्क्याउने, अपमान गर्ने वा डर देखाउने कार्य।
२ . अनलाइन दुर्व्यवहार र ट्रोलिङ्ग (Online Harassment and Trolling): अपमानजनक, घृणायुक्त वा धम्कीपूर्ण टिप्पणीहरू, सन्देशहरू वा पोस्टहरू प्रयोग गरेर कसैलाई निशाना बनाउने।
३. साइबर स्टकिङ्ग (Cyber Stalking): इन्टरनेट र अन्य डिजिटल उपकरणहरूको माध्यमबाट कसैलाई पछ्याउने, निगरानी गर्ने र उनीहरूको गतिविधिमाथि अनधिकृत रूपमा नजर राख्ने।
४. अश्लील सामग्रीको फैलावट (Non-Consensual Sharing of Intimate Images/Pornography): कसैको व्यक्तिगत वा यौनजन्य तस्बिर तथा भिडियोहरू उनीहरूको सहमतिबिना अनलाइनमा सार्वजनिक गर्ने (जसलाई ‘रिभेन्ज पोर्न’ पनि भनिन्छ)। यो विशेष गरी महिला र बालबालिका लक्षित हुने गर्छ।
५ . पहचान चोरी (Identity Theft) र फिसिङ (Phishing): कसैको व्यक्तिगत जानकारी अनलाइनबाट चोरेर त्यसको दुरुपयोग गर्ने वा झुक्याएर संवेदनशील जानकारी लिने।
६. गोपनीयता उल्लङ्घन (Privacy Violation): कसैको निजी जानकारी वा डाटा उनीहरूको अनुमति बिना संकलन गर्ने, प्रयोग गर्ने वा सार्वजनिक गर्ने।
७. डिजिटल प्लेटफर्ममा लैङ्गिक हिंसा (Gender-Based Violence on Digital Platforms): महिला, बालिका र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई लक्षित गरी गरिने दुर्व्यवहार, धम्की र अपमान रहेका छन् ।
यसका कारण र चुनौतीहरू :
१ . गोपनीयताको अभाव: इन्टरनेटमा कसैको जानकारी छिट्टै फैलिन सक्छ, जसले पीडितलाई लामो समयसम्म असर गर्छ।
२ . अनामिकताको दुरुपयोग (Anonymity): दुर्व्यवहार गर्नेहरूले आफ्नो पहिचान लुकाएर निर्धक्क रूपमा हिंसा गर्न सक्छन्।
३. कानुनी चुनौती: साइबर अपराधका घटनाहरू राष्ट्रिय सीमा नाघेर हुने हुँदा यसको अनुसन्धान र न्याय प्रक्रिया जटिल बन्ने।
४. मानसिक स्वास्थ्यमा असर: अनलाइन हिंसाका कारण पीडितमा चिन्ता, डिप्रेसन र सामाजिक अलगाव जस्ता गम्भीर मानसिक समस्याहरू देखिन सक्छन्। प्रविधिको सही प्रयोगले लैङ्गिक हिंसा लगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सकिन्छ भन्नेमा जोड दिइएको छ। यसको लागि डिजिटल साक्षरता (Digital Literacy) र साइबर सुरक्षा (Cyber Security) सम्बन्धी सचेतना महत्वपूर्ण हुन्छ। यो कार्यक्रमको सहिकरण सामुदायिसक विकास केन्द्र डोटीका अनुगमन तथा मुल्याङ्कन अधिकृत टिकेन्द्र भण्डारीले गर्नु भएको थियो । १६ दिन सम्म विभिन्न वडाहरुमा विभिन्न साझेदार संघसंस्थाले कार्यक्रम गर्ने योजना निर्माण भएको छ ।
