नेपाल शिक्षक महासंघ स्थानीय कार्य समिति द्वारा दिसिनपालाई ध्यानाकर्षण पत्र

सरिता कठायत
फाल्गुन ६ डोटी
डोटी: डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकालाई नेपाल शिक्षक महासंघ स्थानीय कार्य समिति द्वारा ध्यानाकर्षण पत्र बुझाएको छ । सदनमा बिचाराधिन अवस्थामा रहेको विद्यालय शिक्षा ऐनलाई आफ्ना यथोचित मागहरू सम्बोधन हुने गरी हिउँदे अधिबेशन बाट जारी गराउन दबाब मूलक कार्यक्रम अन्तर्गत नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिकाका नगर  प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको दिपायल सिलगढी नगरपालिका नेपाल शिक्षक महासंघ स्थानीय कार्यसमितिका अध्यक्ष हरिप्रसाद पनेरुले बताए । उनका अनुसार नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको माघ १६ र १७ गते बसेको बैठकले आन्दोलनका कार्यहरू तय गरिएको थियोे । नेपाल शिक्षक महासंघ  स्थानीय कार्यसमितिका पदाधिकारी,शिक्षकका पेशागत संघ संगठनका पदाधिकारीहरूको उपस्थितिमा  ज्ञापनपत्र बुझाएको पनेरुले जानकारी गराए ।  ज्ञापनपत्र बुझाउँदै सरकारले ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने समेत चेतावनी दिएको छ । गुणस्तरीय विद्यालय शिक्षा व्यवस्थापन तथा विद्यालय तहका शिक्षक,कर्मचारीका पेसागत मागहरू सम्बोधन गर्न विगतमा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारले बेवास्ता गरेको कुरा ध्यानाकर्षण  पत्रमा सम्बोधन गरिएको छ । २०७५ ,२०७८,२०८०  सालका आन्दोलनहरूको बलमा नेपाल सरकारसँग सहमति भएतापनि व्यवहारमा लागू हुन नसकेको महासंघको गुनासो रहेको छ । महासंघले पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम गरेको छ । सरकारले शिक्षा ऐन जारी गरिएन भने आगामी चरणमा अवोराधात्मक आन्दोलन,असहयोग आन्दोलन तथा काठमाडौं केन्द्रित सडक प्रदर्शन गर्ने चेतावनी महासंघले दिएको छ । महासंघले विद्यार्थी,अभिभावक,जनप्रतिनिधि,तथा सम्पूर्ण शिक्षा सरोकारवालाहरूलाई आन्दोलनमा सहयोग र समर्थन गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार