सरिता कठायत
डोटी, चैत ३
डोटी — बोगटान फुड्सिल गाउँपालिका–३ इनाडा स्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार मंगलबार बिहान करिब १०:०० बजे इनाडाबाट कैलाली जिल्लातर्फ जाँदै गरेको से. १ च १५१७ नम्बरको बोलेरो जीप उकालोमा ब्याक हुने क्रममा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते हुनेहरूमा जीप चालक सन्तोष सापकोटा (२८) रहेका छन्। उनको खुट्टा र कम्मरमा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, योगेश बिनाडी (४५) को टाउको र ढाडमा गम्भीर चोट लागेको छ। नरेश साउँद (१७) को टाउको, अनुहार र ढाडमा गम्भीर चोट लागेको छ। उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। यस्तै, जनक बुढा (१५) को टाउको, हात र खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ। घटनालगत्तै प्रहरी सहायक हवल्दार पदमराज जोशीको कमाण्डमा ४ जनाको टोली खटिएर उद्धार कार्य गरिएको थियो। घाइते सबैलाई थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।
