शिखर -१० बानेडुंग्रीसैनमा खुला पुरूष भलिबल प्रतियोगिता हुने

सरिता कठायत 
डोटी । धार्मिक परम्परा तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले यस वर्षको मकर मेलाको अवसरमा डोटीको शिखर नगरपालिका–१० बानेडुंग्रीसैनमा खुला पुरूष भलिबल  प्रतियोगिता आयोजना हुने भएको छ। शिखर नगरपालिकामा अवस्थित पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गहनान क्षेत्रमा लाग्ने मकर मेलाको सन्दर्भमा श्री सिद्धेश्वर माध्यमिक विद्यालयको आयोजनामा, शिखर नगरपालिकाको आर्थिक सहयोग तथा शिखर नगरपालिका वडा नं. १० को समन्वयमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण पुरुष भलिबल टिम तथा खेलप्रेमी दर्शकहरूलाई आयोजकले हार्दिक आमन्त्रण गरेको छ। सूचना अनुसार प्रतियोगिता श्री सिद्धेश्वर माध्यमिक विद्यालय, शिखर नगरपालिका–१० डोटीमा सञ्चालन हुनेछ। टिम दर्ता २०८२ पौष २६ गते  दिउँसो ४:०० बजेसम्म गर्न सकिनेछ। टिम दर्ता शुल्क रु. ५,००० (पाँच हजार मात्र) तोकिएको छ।
प्रतियोगिता २०८२ पौष २७ गते बिहान ११:०० बजेदेखि सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा प्रथम हुने टिमले रु. १,५५,५५५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमलाई रु. ८८,८८८ र तेस्रो हुने टिमलाई रु. ५५,५५५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै बेस्ट प्लेयरलाई रु. ३,५००, बेस्ट डिफेन्सर, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सेटर र राइजिङ प्लेयरलाई जनही रु. २,५०० पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। नगद पुरस्कारमा नियमानुसार कर कट्टी गरिनेछ। खेल अवधिभरको खानपानको व्यवस्था खेलाडी स्वयंले गर्नुपर्नेछ भने खेल पोशाक बिना खेलाडीलाई खेलमैदानमा प्रवेश गर्न नदिइने स्पष्ट गरिएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार