सरिता कठायत
डोटी:डोटीका दुई विद्यालय नमुना विद्यालय छनौटमा परेका छन् । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले डोटीका दुई विद्यालय लगायत ३२ ओटा विद्यालयहरुलाई प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट गरेको हो । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले नमूना विद्यालय छनौट गरेको जनाइएको छ । निर्वाचन क्षेत्र नं (क) बाट शिखर नगरपालिका ८ गोपघाटको राधाकृष्ण माध्यमिक विद्यालय र निर्वाचन क्षेत्र नं (ख)बाट बडिकेदार गाउँपालिका २ को बर्छैन माध्यमिक विद्यालयलाई नमूना विद्यालय छनौट गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट कार्यक्रम अन्तर्गत प्रस्ताव आएका विद्यालयहरुमध्ये प्रदेशभरी ३२ ओटा विद्यालयहरुलाई छनौट गरिएको हो । छनौट भएका विद्यालयहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण गरेर बजेट विनियोजन हुने बताइएको छ । छनौट भएका विद्यालयहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुनु अघि गुरुयोजना पेश गर्न आग्रह गरिएको छ ।


