सरकारले भने शिक्षा, स्वास्थ्य समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल जारी रहेकाले वार्ता संवादमा आउन शिक्षकहरूलाई वार्तामा आउन अपिल गर्दै आएको छ । छिटोछरितो दफावार सकेर आउँदो बर्खे अधिवेशनमा संसदमा विधेयक पेस गरेर पारित गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकहरूले स्थानीय तह मातहत नबस्ने, जिल्ला शिक्षा कार्यालय राखेर शिक्षकको नियमन र रेखदेख गर्ने व्यवस्था गर्नुपर्नेलगायत संविधानको व्यवस्थाविपरीतको माग राखेका छन् ।
यसका लागि संविधान संशोधन गर्नुपर्ने शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । त्यस्तै अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, दरबन्दी थप गर्नुपर्ने, बालबालिका, शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी व्यवस्था गर्नुपर्ने मागले राज्यको व्ययभार थप हुनेछ । कतिपय माग शिक्षकका पेसागत सुरक्षा र वृत्ति विकाससँग सम्बन्धित छन् । शिक्षा मन्त्रालयले भने विगतमा भएका सहमतिअनुसार नै दफावार छलफल भएकाले संवादमार्फत सहमति कायम गरेर विद्यालयमा फर्कन शिक्षकहरूलाई पटक–पटक आग्रह दोहोर्याउँदै आएको छ । शिक्षकहरूले भने पूर्व सहमतिअनुसार शिक्षा ऐन जारी भएपछि मात्र कक्षाकोठामा फर्कने चेतावनी दिँदै आएका छन् ।


