सरिता कठायत
चैत्र ११ डोटी
डोटी :डोटी जिल्लाको शिखर नगरपालिका १० को पवित्र गहनान तीर्थस्थल गहनान त्रिवेणी धाममा “श्रीमद देवी भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञ हुने भएको छ। पुर्व प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महायज्ञ उद्घाटन गर्ने छन् । यही चैत्र १७ देखि २५ गतेसम्म डोटी र डडेल्धुरा जिल्लाको संगमस्थल गहनान भूमिराज देवताको देवस्थलमा उक्त महायज्ञ हुन गइरहेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ललित बलायरले बताएका हुन् । डोटी र डडेल्धुराको सिमाना (सेती नदी र शाकल्य नदिको सङ्गम) स्थल शाकल्य ऋषिले तपस्या गरी ज्ञान आर्जन गरेको पवित्र ऐतिहासिक भूमि मानिन्छ। पौराणिक कालमा ५ पाण्डवहरूले ध्यान तपस्या गरेको पवित्र स्थल समेत मानिन्छ । धार्मिक,पर्यटकीय तथा ऐतिहासिक,सामाजिक जनजीवन र पक्षको प्रचारप्रसार तथा उजागर गर्दै सो क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उद्देश्य सहित सम्पूर्ण हिन्दुधर्मालम्बिहरुको आस्थाको केन्द्र र गन्तव्य स्थल बनाउन तथा तीर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञको आयोजना गरिन लागेको जानकारी गराएका छन् । महायज्ञ समितिका संयोजक बलायरका अनुसार महायज्ञको प्रमुख वाचक आध्यात्मिक प्रमुख वाचक पण्डित श्री ऋषि केश उपाध्याय रहने उनले बताएका हुन । महायज्ञमा तुला दान,अन्न दान,गौदान,आरती सेवा,विशेष पूजा,ब्राह्मण पूजा,ब्राह्मण भोजन,प्रसाद वितरण,व्रतबन्ध लगायत कार्यक्रमहरू हुनेछन्।त्यसैगरी योगबिज्ञान शिविर,शालिग्रामपुजन,देव भागवत,मुलपाठ,रुद्री श्रीमद्भागवत कथा प्रवचन,झाँकी बालसँस्कार कार्यक्रम,भजनकृतन पनि हुने छन्। यससँगै दाताहरू लाई सम्मान पत्र,दाताको नाम शिला पत्रमा अंकित पनि गरिने आयोजकले जनाएको छ। महायज्ञ सम्पन्न गर्न विभिन्न २० वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। महायज्ञ कार्यक्रममा २ लाख बढी दर्शनार्थीहरु दर्शन गर्न आउने अनुमान गरिएको र १ करोड बराबर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । डडेल्धुराको गन्यापधुरा,नवदुर्गा,डोटीको शिखर नगरपालिका मुख्य संरक्षकको भूमिकामा रहेका छन्। ३ वटै पालिकाहरूको स्वामित्व रहेको गहनान क्षेत्र भएपनी सुदूरपश्चिम का ८८ वटै पालिकाहरूलाई आवश्यक सहयोगको लागि आह्वान समेत गरिएको बलायरले बताए ।


