सरिता कठायत
चैत्र ४
डोटी: डोटीमा ४ हजार ६२ जना विद्यार्थीलेहरूले एसईई दिने भएका छन् । चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डोटीबाट चार हजार ६२ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्याङ्क अनुसार दुई हजार २२२ जना छात्रा र एक हजार ८४० जना छात्र परीक्षामा सहभागी हुने भएका छन् । गत वर्षको तुलनामा डोटीबाट एसईई दिने विद्यार्थीहरुको संख्यामा यस वर्ष ८४५ ले वृद्धि भएको छ । गत वर्ष डोटीबाट तीन हजार २१७ जना विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए । एसईईमा सहभागी हुने विद्यार्थीहरुमध्य छात्राको संख्या ३८२ जनाले बढी छ। परीक्षामा सहभागी हुने चार हजार ६२ जना विद्यार्थीहरु मध्य प्राविधिकधार तर्फ नियमित ६३ जना छात्र र ५५ जना छात्रा गरी जम्मा ११८ जना परीक्षामा सहभागी हुदैछन् । त्यस्तै साधारण तर्फ नियमित एक हजार ४०७ जना छात्र र एक हजार ५२० छात्रा गरी जम्मा २ हजार ९२७ जना विद्यार्थीहरु सहभागी हँदैछन् । ग्रेडवृद्धि तर्फ ३७० छात्र र ६४७ गरी जम्मा १ हजार १७ जना विद्यार्थीहरु एसईईमा सहभागी हुँदैछन् । यसपटक एसईईमा परिक्षाका लागि १५ वटा परीक्षा केन्द्र तोकिएको छ ।


