गणेश बहादुर मौनी
पुस २७ डोटी
डोटी जिल्लाका स्थानीय तहका युवाहरूका लागि आयोजना गरिएको पाँच दिने उद्घोषण कला तालिम शनिवार सिलगढीमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीको आयोजनामा पुष २३ गतेदेखि सुरु भएको उक्त तालिमको गभरनेन्स मिडिया रिसर्च एन्ड ट्रेनिङ्ग ग्रुपले सहजिकरण गरेको थियो ।
तालिमको समापन पत्रमा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले तालिममा सिकेका कुराहरूलाई सहभागीहरूले व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले भने ‘तपाइहरू सबै बोल्नमा बढी इच्छुक हुनुहुन्छ होला त्यसैले तपाईँलाई केही सिक्ने चासो छ भने सामाजिक सञ्जाल, युट्युब बाट पनि उद्घोषण कला सम्बन्धी नयाँ नयाँ विषय बस्तुको बारेमा जानकारी लिन सक्नु हुने छ, तपाइहरू आगामी दिनमा पनि यस क्षेत्रमा सक्रिय भएर लाग्न आवश्यक छ ।’
सहभागीहरूले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गरे पश्चात् तालिममा सिकेको नतिजा देखिने कार्यक्रमका सभाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमले बताए । उनले भने ‘तालिम लिनु, तालिममा सहभागी हुनु ठुलो कुरा होइन सिकेका कुरा व्यवहारमा लागु गर्नु ठुलो कुरा हो, यसलाई अभ्यासमा परीक्षण गरी नियमित कार्य गर्न आवश्यक छ ।’ वर्तमान समय बढी बोल्नेको भएकोले सहभागीहरूले बढी भन्दा बढी अभ्यास गरी आफूलाई योग्य उद्घोषक तयार गरी आफ्नो समाज र स्थानीय सरकारलाई सहयोग गर्न आवश्यक रहेको समेत कार्यकारी निर्देशक गेहेन्द्र बमले बताए ।
विभिन्न सार्वजनिक रूपमा सञ्चालन गरिने कार्यक्रमहरू प्रभावकारी होस र स्थानीय स्तरमा सञ्चालन हुने कार्यक्रमहरूमा स्थानीय युवाहरूले अवसर पाउन भन्ने हेतुले सञ्चालन भएको तालिममा उद्घोषक, उद्घोषकको अर्थ र परिभाषा, उद्घोषक र सञ्चालक बिचको भिन्नता, उद्घोषण शैली, कार्यक्रमको कार्यतालिका तयारी, औपचारिक कार्यक्रमका चरणहरू, उद्घोषकले ध्यान दिनु पर्ने कुराहरू लगायका विषय बस्तुको बारेमा छलफल गरिएको तालिमका प्रमुख सहजकर्ता रामहरि ओझाले बताए ।
पाँच दिन सम्म सञ्चालन भएको तालिममा डोटी जिल्लाका नौ वटै स्थानीय तहबाट २६ जना युवा युवतीहरूको सहभागिता रहेको थियो । तालिमको समापन सत्रमा प्रमुख जिल्ला अधिकारीका साथै डोटी जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल ३६ नम्बरका प्रमुख, राष्ट्रिय अनुसन्धान डोटीका प्रमुख, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
