सरिता कठायत
पुस १६ डोटी
कवि कल्पना जोशीका
हालको खबर कविता यसरी लेखिएका छन ।
पग्लिएपछि बग्लेकको हिउँ
धमिलो हुँदै बगेको फुलाैट गाडको पानी
उक्साइरहन्छ
आफैले कठोर बनाउन खोजेको मनलाई
लाग्छ एकछिन पग्लिन दिऊँ
मनभित्रका कैयौं हिमोटहरू
बग्न दिऊँ धमिलोपन छताछुल्ल हुने गरी
यी सुख्खा पहाडहरूको सजीव खालीपन
जताततै अगाडि लागेर देखाइरन्छ ऐना
‘रित्तिनु नै छ भने त
हामी जस्तो भएर रित्तिन सिक’
राजधानी र सुदूरबीचमा हुलाकी गरिरहने
राजधानी एक्प्रेसहरू
प्रत्येक पटकको हर्नमा सोधिरहन्छन्
केही त हुनुपर्ने हो तिमीले पनि सुनाउनुपर्ने
कोही त हुनुपर्ने हो तिमीलाई पनि सुन्नुपर्ने
बधशालाबाट बिहानै आइरहने आवाजहरू
चेतावनी दिइरहन्छन्
हृदयले सम्बोधन गर्न सिक्नुपर्ने
एक अनिवार्य लयको
खप्तड लेकको बाटो हुँदै आएर
करेसा कब्जा गर्ने बाँदरको हूलले
संकेत गरिरहन्छ
जागिरको कुनै रङ्ग हुँदैन
जीविकाको कुनै आकार हुँदैन
यो हालखबर सोध्ने चलन
निकै पुरानो हो साथी,
हुन त तिमीलाई पनि थाहा छ
हामी दुवैभित्र बेहिसाब धमिलोपन,
अलिकति हिउँ, केही स्थायी बधशाला,
एक हूल बाँदर, बाध्यताका बन्जर पहाडहरू
इमानदारीपूर्वक पर्खिरहेका छन्
आफूलाई पाइक पर्ने साजघाट पुग्न।
